धनगढीमा रगतको चरम अभाव, रक्तदान गर्न पनि छाडे दाताले
कैलाली, १० फागुन । कैलालीको धनगढीमा अहिले रगत दिन हिच्किचाउने प्रवृत्ति बढेका कारण रगतको चरम अभाव भएको छ । रक्तसञ्चार केन्द्र धनगढीमा एक हप्तायता रगतको चरम अभाव भएको र अहिले कुनै पनि समूहको रगत मौज्दात नभएको रक्त सञ्चार केन्द्र, धनगढीले जनाएको छ। नेपाल रेडक्रस सोसाइटी मातहतको रक्तसञ्चार केन्द्र, धनगढीमा एक हप्तायता कुनै पनि समूहको रगत एक पोका पनि मौज्दात नरहेको रक्त सञ्चार केन्द्रका प्रमुख धरणीधर पन्तले बताउनुभएको छ । उहाँले रक्तसञ्चार केन्द्रले रगत दान गरेमा स्वास्थ्यमा कुनै असर पर्दैन भन्ने कुरा बुझाउन नसक्नु र नियमित रगत दान गर्ने व्यक्तिले निरन्तर रुपमा रक्तदान नगर्नुलगायतका कारणले रगतको अभाव भएको जानकारी दिनुभएको छ। मानव शरीरमा रगत निश्चित अनुपातमा हुने गर्दछ । पुरुषमा प्रतिकेजी ७६ मिलिलिटर र महिलामा प्रतिकेजी ६६ मिलिलिटर रगत हुन्छ । तर हरेक मानिसलाई प्रतिकेजी ५० मिलिलिटर रगत भए पर्याप्त हुन्छ । रक्तसञ्चार केन्द्रले गएको माघसम्म मात्रै गत आर्थिक वर्षको मौज्दात दुई पोका र यस आवमा दुई हजार २९५ गरी, दुई हजार २९७ पोका रगत वितरण गरेको छ। मानिसको शरीरमा बन्ने रगतको आयु १२० दिन मात्रै हुने भएकाले नियमित रगत दान गरेमा स्वास्थ्य झन् राम्रो हुने तथा फूर्ति आउने सेती अञ्चल अस्पतालमा कार्यरत डा गणेश सिंहले बताउनुभएको छ । स्वास्थ्यकर्मीको भनाइअनुसार एउटा स्वस्थ व्यक्तिले प्रतिकेजीमा आठ मिलिलिटर रगत दान गर्दा फरक पर्दैन । रासस


0 comments
प्रतिकृया दिनुहोस