स्थानीय तहको निर्वाचन घोषणा सरकारकोे ऐतिहासिक निर्णय: प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, ९ फागुन - प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको मिति घोषणालाई सरकारकोे ऐतिहासिक निर्णय भएको बताएका छन् । उनले भने, “सरकारले ऐतिहासिक निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिएको छ । एकै चरणमा मुलुकभर नै स्थानीय तहको निर्वाचन हुन्छ ।” मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले भने, “लोकतन्त्रको रक्षाका लागि परिवर्तनका सबै एजेण्डाको रक्षा र संविधानको कार्यान्वयनका लागि निर्वाचन नै अनिवार्य विकल्प हो । सरकारले आज महत्वपूर्ण निर्णय गरेको छ ।” उनले तराई–मधेस, हिमाली क्षेत्रमा जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या बढाउने निर्णय गरेको र त्यसले सबै वर्ग तथा क्षेत्रलाई समेट्ने र निर्वाचनको मार्गप्रशस्त गर्ने बताए । व्यवस्थापिका–संसद्मा टेबल गरिएको संविधान संशोधन प्रस्तावलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले सो प्रक्रिया सँगसँगै सङ्घीय आयोग गठन गर्ने प्रक्रिया पनि सुरु भएको उल्लेख गरे । सबैलाई समेटेर मुलुकलाई निर्वाचनमा केन्द्रित गर्ने जानकारी दिनहुँदै प्रधानमन्त्रीले आजको दिनलाई ऐतिहासिक दिनका रुपमा चित्रण गरे । सबै पक्षको सहमतिमा सरकारले निर्वाचन प्रक्रियालाई अगाडि बढाउँछ र मधेसी मोर्चालाई समेत सहमतिमा ल्याइने र उनीहरु पनि निर्वाचनमा केन्द्रित हुने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले मङ्गलबार बस्ने व्यवस्थापिका–संसद्मा टेबल भएको संविधान संशोधन प्रक्रिया अगाडि बढाउने विश्वास व्यक्त गरे ।


0 comments
प्रतिकृया दिनुहोस