आइपिएलमा रातारात करोडपति बनेका सिराकले भने– म बुबाका लागि घर किन्न चाहन्छु

इण्डियन प्रिमियर लिग(आइपिएल) को दसौं शृंखलामा २ करोड ६० लाखको बोली लागेपछि मोहम्मद सिराज अहिले दंग छन्। उनलाई सोमबार सनराइजर्स हैदराबादले यति धेरै मूल्यमा खरिद गरेको हो। सिराजका बुबा मोहम्मद गौस हैदराबादमा अटो चलाउछन्। सोमबार करोडपछि खेलाडीको सूचीमा आफू पनि समावेश भएपछि सिराज अहिले आफ्नो परिवारका लागि राम्रो ठाउँमा घर किन्ने अभियानमा छन्। सिराजले यो सिजन प्रथम श्रेणी क्रिकेटमा हैदराबादका लागि उत्कृष्ट बलिङ गरेका थिए। यसै कारण आइपिएल टोली सनराइजर्स हैदराबादको आँखामा उनी परेका हुन्। उनले केही समयअगाडि भारत ‘ए’ र भारत–११ टिमबाट पनि मौका पाएका थिए। ‘मलाई अहिले पनि सम्झना छ, क्रिकेटबाट मेरो पहिलो कमाइँ ५ सय रुपैयाँ थियो। एक स्थानीय क्रिकेटमा मेरो मामा टिमको कप्तान थिए। २५ ओभरको खेलमा २० रन खर्चेर मैले नौ विकेट लिएपछि मामाले खुसी भएर ५ सय रुपैयाँ दिनु भएको थियो। अहिले २ करोड ६० लाख रुपैयाँको बोली लाग्दा म स्तब्ध भएको छु,’ सिराजले भने। उनले आफ्नो बुबाले अटो चलाएर आफ्नो परिवारलाई पालेको भन्दै भने,‘बलरको एउटा स्पाइकको मूल्य धेरै हुन्छ। तरपनि उहाँ मेरो लागि राम्रो स्पाइक ल्याउनु हुन्थ्यो। म उहाँको लागि राम्रो ठाउँमा एउटा घर किन्न चाहन्छु।’

0 comments

प्रतिकृया दिनुहोस