मापदण्डविपरीत सवारी चलाउँदा १९ वर्ष लगाएर बनाएको बीपी राजमार्ग भासियो
सिन्धुली, १० फागुन - बीपी राजमार्गको प्राविधि अध्ययन टोलीले दिएको प्रतिवेदनविपरीत ठूला सवारीसाधन सञ्चालनमा ल्याउँदा सो राजमार्ग भासिएको छ । पूर्वी नेपालसँग राजधानी जोड्ने छोटो दूरीको बीपी राजमार्ग अत्यन्तै बलियो र वातावरणीय हिसाबले मुलुककै उदाहरणीय सडक मानिएको थियो । तर, सञ्चालनमा आएको छोटो समयमै सडक भासिएपछि सो राजमार्गको भविष्यप्रति पनि प्रश्नचिह्न खडा भएको छ । १९ वर्ष लगाएर बनाइएको १ सय ५८ किलोमिटर लामो बीपी राजमार्ग निर्माणमा जापान सहयोग नियोग ९जाइका० ले अनुदान सहयोग गरेको थियो । करिब २५ अर्ब रूपैयाँ लगाएर निर्माण गरिएको सो सडक जाइकाले २०७१ सालको अन्त्यमा मात्र निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तर दुर्भाग्य ! एक लेन सडक दुई वर्षमै भत्कियो। सो सडकखण्डलाई गोरखा भूकम्पले पनि असर पु-याएको प्राविधिकहरूको दाबी छ ।आइतबार राति करिब ३० मिटर सडक सुनकोसी नदीमा खसेको छ । सिन्धुलीको शीतलपाटी–बेनीघाट–खाल्टे खण्डको राजमार्ग सुनकोसीमा खसेको हो ।यद्यपि, वैकल्पिक बाटो प्रयोग गरी सोमबार साँझदेखि राजमार्ग सञ्चालनमा ल्याइएको छ । वातावरणलाई असर नगर्ने गरी अधिकांश स्थानमा अग्ला पर्खाल लगाएर देख्नलाई मात्र आकर्षक सडक निर्माण गरेपछि नेपालका सडक इन्जिनियरहरूले गुनासोसमेत गरेका थिए । उनीहरूको निचोड थियो, न सडक बलियो छ न त यसलाई विस्तार गरी दुई लेन बनाउन सकिन्छ। राजमार्ग साना गाडी र दुईपांग्रे चलाउनका लागि उपयुक्त सडकमा ठूला सवारी सञ्चालनमा आएपछि समस्या उत्पन्न भएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको यातायात व्यवस्था विभागले उक्त राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण भएपछि विभागका तत्कालीन प्राविधिक निर्देशक शरद अधिकारीको नेतृत्वको प्राविधिक टोलीले अध्ययन गरेको थियो । टोलीले स्थलगत अध्ययन गरी तत्कालीन विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनले बाटो कमजोर र सानो भएको भन्दै दिउँसो मात्र बस चलाउन दिनुपर्ने सुझाव दिएको थियो।


0 comments
प्रतिकृया दिनुहोस